१ कार्तिक ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मतपत्रका बारेमा सर्वोच्च अदातलबाट बुधबार भएको आदेशबाट आयोगको निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको बताउँदै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका विषयमा जानकारी गराउने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेमा आयोग ढुक्क छ’ प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘अदालतबाट औपचारिकरुपमा फैसलाको प्रति प्राप्त छैन, यद्यपि प्राप्त सूचनाअनुसार, अदालतको फैसलाबाट निर्वाचनको तिथि, मिति र व्यवस्थापनमा कुनै असर पुग्ने छैन ।’
राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवैको मतपत्र अलग-अलग हुनुपर्ने माग दाबीसहित सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार हुँदैछ । उक्त निर्वाचनका लागि आयोगले १० हजार ६७१ निर्वाचनस्थलमा १९ हजार ८०९ मतदान केन्द्र कायम गर्ने निर्णय गरिसकेको छ ।













