२४ साउन ०७९, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले गर्ने आन्तरिक कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले दिएको जानकारीअनुसार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको हो ।
आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको भन्दै उनले उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ हुने बताए ।
आयोगको आन्तरिक कार्य :
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने,
असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने,
(प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।)
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार गर्ने,
मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाउने,
मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुने ।
आयोगले साउन २२ गतेदेखि सुरुभएको दल दर्ता कार्य साउन ३१ गतेसम्मलाई तोकेको छ र साथै समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तालिका असोज २ र ३ गते तय गरेको छ ।













