२५ फागुन ०७४, विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं-१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम राईले आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहाकार हो ।
मुख्य न्यायधिवक्तामा सिफारिस भएका आचार्य २०४६ सालमा अधिवक्ता भएका थिए भने २०७४ सालमा वरिष्ठ अधिवक्ता भएका थिए । उनी २०५७ सालमा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ वार एशोसिएसनका अध्यक्षसमेत भइसकेका छन् ।