२९ माघ ०७४, विराटनगर । प्रदेश १ को सोमबार बसेको प्रदेशसभा बैठकले एमालेका प्रदीप भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको छ ।
बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए ।
सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत भएका हुन् ।