प्रदेश २ मा एसईईको परीक्षा दुई दिन रद्द भएपछि विद्यार्थी सडकमा

१५ चैत ०७५, राजविराज ।माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत प्रदेश २ को शुक्रवार हुने भनिएको अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगन गरिएपछि विरोधमा विद्यार्थीले प्रदर्शन गर्दै करिब एक घण्टा जिल्ला प्रहरी कार्यालय मुल गेटमै धर्ना दिएका छन् ।

फोटोः देवराम यादव ।

शुक्रवार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र विहीवार साँझ देखिनै इन्टरनेट, इमेल, इमो लगायतका सामाजिक संजाल मार्फत आउट भएपछि परीक्षा स्थगन गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

उक्त विषयको परीक्षा सप्तरीमा मात्र नभई प्रदेश २ का सबै आठ वटै जिल्लामा स्थगन गरिएको उनले जानकारी दिए । यस अघि अघिल्लो दिन विहीवार सम्पन्न विज्ञान विषयको परीक्षा पनि रद्द गरिएको थियो ।

विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा शुरु हुनु अगावै सामाजिक सञ्जाल मार्फत बाहिरिएपछि राष्ट्रिय परीक्षाा बोर्डले सो विषयको परीक्षा रद्द गर्ने र अगामी २२ चैत्रमा पुनः परीक्षा लिने निर्णय गरेको थियो ।

करिब २ सयको संख्यामा सदरमुकाम राजविराजमा भेला भएका विद्यार्थीहरुले प्रदर्शन गर्नुकासाथै जिल्ला प्रहरी कार्यालयको मुल गेटमै करिब १ घण्टा धर्ना दिएका छन् । उनीहरुले एकपछि अर्को परीक्षा रद्द र स्थगनले तनाव भएको भन्दै यसको मुख्य दोषी पत्ता लगाई कडा कार्वाही गर्नुपर्ने माग गरेका छन् ।

क–कसको मिलोमतोमा प्रश्न–पत्र बाहिरिएको हो ? यसबारे गम्भिर अनुसन्धान गरी दोषीलाई कडा कार्वाही हुनुपर्ने विद्यार्थीहरुको माग छ । नारावाजी गर्दै विद्यार्थीले प्रदर्शन गर्न थालेपछि कुनै अप्रिय घटना हुन नदिन अहिले बाजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसरी दुई दिन लगातार परीक्षा रद्द र स्थगन भएपछि विद्यार्थीहरुसँगै उनका अभिभावकहरु पनि मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करोडौंको व्ययभार थपिएको छ ।

यता प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारले परीक्षा संचालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी मात्र पाएको भन्दै केन्द्रले पठाउने प्रश्नपत्र प्रहरी सुरक्षा घेरामा रहने र त्यस्तो अवस्थामा पनि कसरी लिक भयो ? भन्ने विषय शंकाको घेरामा परेको बताए ।

उनले प्रदेश सरकारले परीक्षा मर्यादित र व्यवस्थित बनाई सभ्य तरिकाले परीक्षा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको दावी गर्दै प्रश्नपत्र आउट गर्ने षडयन्त्रकारीबारे समिति मार्फत सुक्ष्म छानविन थालिएको बताए ।

संघीय समाजवादी फोरम नेपाल प्रदेश २ का मुख्य सचिव शम्भु झाले बारम्बार प्रश्नपत्र आउट हुनुमा प्रदेश २ सरकारलाई बदनाम गर्न संघीय सरकारबाट नै ठुलो षडयन्त्र भएको आरोप लगाएका छन् । उनले भने–केन्द्रबाट नै प्रश्नपत्र प्रदेशमा आउने हो र प्रहरीको कडा सुरक्षा घेरामा राखिने प्रश्नपत्र यसरी लिक हुनुको जिम्मेवारी कसले लिने ? उनले प्रश्नपत्र प्रदेशले नभई संघीय सरकारले छपाउने र सम्बन्धित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पठाउने गरेको भन्दै यसरी प्रश्नपत्र लिक हुनुको जिम्मेवारी संघीय सरकारले नै लिनुपर्ने बताए ।

तपाइको मत