प्रदेश ३ सभामुखद्वारा प्रदेशको नाम र राजधानी दर्ता आह्वान

२५ पुस ०७६, हेटौंडा । प्रदेश ३ सभामुख सानु कुमार श्रेष्ठले प्रदेशको नाम र राजधानी प्रस्ताव दर्ता गर्न आह्वान गरेको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा सभामुख श्रेष्ठले सांसदहरुलाई प्रदेशको नाम र राजधानी प्रस्ताव दर्ता गर्न आह्वान गरेका हुन् ।

सभामुख श्रेष्ठले पुस २६ गते बिहान ९ बजेदेखि ११ बजेभित्र प्रदेशको नाम र स्थायी राजधानी तोक्ने कार्यविधि २०७६ को अनुसूची–१ बमोजिमको ढाँचामा संसद सचिवालयमा राजधानी र नाम प्रस्ताव दर्ता गर्न आग्रह गरेका हुन् ।

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई राजधानीका लागि सिफारिस गरेको छ ।

नेपालको संविधानको धार २८८ को उपधारा २ अनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले राजधानी तोक्न सक्नेछ । प्रदेशसभामा रहेका १ सय १० जनामा ८० जना नेकपा सांसद छन्, यो संख्या राजधानीको निर्णय गर्न पर्याप्त छ ।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेशसभा संसदीय दलको बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा निर्णय गरेको छ ।

पुस २७ गते मतदान प्रक्रियाबाट प्रदेश नं. ३ को प्रदेशको नाम र राजधानी तोक्ने कार्यतालिका रहेको छ ।