१२ असोज ०७५, काठमाडौं । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुईतिहाईले पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।
प्रदेश ७ मा ५३ सांसदमा दुई तिहाईका लागि ३६ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा ३८ मत परेको थियो । प्रस्तावको पक्षमा नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले मात्र मतदान गरेका थिए भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने मतदान गरेनन् । उनीहरुले बैठकसमेत बहिस्कार गरेका थिए ।
प्रदेशको नाम र राजधानी निर्धारण गर्न नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा प्रदेशसभाले गठन गरेको विशेष सुझाव समितिले ‘नाम सुदूरपश्चिम र राजधानी गोदावरी’ राख्ने सुझाव दिएको थियो।
समितिको सुझाव अनुसार नाम र राजधानी तोक्न खोज्दा सहमति नभएपछि प्रदेश सभामा मतदानका लागि बैठक बोलाइएको थियो ।













