पराजुलीको जन्ममिति २०१० बैशाख १६ गते सदर
३० जेठ ०७४, काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति २०१० बैशाख १६ गतेलाई न्याय परिषदले सदर गरिदिएको छ ।
न्याय परिषदले मंगलबार परिषद् ऐनको दफा ३१ को उपदफा ६ बमोजम पराजुलीको जन्ममिति २०१० बैशाख १६ गतेलाई सदर गरिएको जनाएको हाे ।
पराजुलीको नागरिकतामा उमेर २१ वर्ष उल्लेख थियो । तर, जन्ममिति थिएन ।
उनकाे शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१० बैशाख १६ गते थियो ।
तर, उमेर विवाद देखिएपछि निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको उमेर २००९ साउन २१ गते कायम गरी त्यही सिफारिस गरेकी थिइन् ।
प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस
परिषदले भावी प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको छ ।
पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम परिषदले सिफारिस गरेको हो ।
पराजुलीको उमेर २०१० बैशाख १६ गते कायम गरिएको जानकारी पनि संवैधानिक परिषदलाई गराएको छ ।
यससँगै पराजुली प्रधानन्यायाधीश भए उनको कार्यकाल ११ महिना हुने भएको छ ।