प्रधानमन्त्रीकाे खुुुुलासा : तीन पतिका विषयमा शक्ति सन्तुलन हेरेर कलात्मक हुन जानिन

३१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पतिसँग बेलाबेला झस्किने गरेको बताउँदै शक्ति सन्तुलन हेरेर कलात्मक हुन नजानेको खुलासा गरेका छन् ।

विष्णु दहालको पुस्तक ‘पशुपतिमा सात दिन’ को बिहीबार लोकार्पण गर्दै प्रचण्डले तीन पतिका बारेमा खुलासा गरेका हुन् ।

‘म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, सेनापतिको बारेमा कुरा गर्नुपर्‍यो भने पनि झस्किन्छु’ पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, कुरा के प्रष्टै हो भने चाहे पशुपति, चाहे राष्ट्रपति, चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भावनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग पुर्‍याउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पवित्र भावना थियो ।’

आफ्नो पहिलो प्रधानमन्त्री कालमा प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथमा भारतीय पुजारीको सट्टा नेपाली पुजारी राख्ने निर्णय गरेका थिए । दहाल पुजारी नियुक्त भएका थिए ।

तर, नेपाली कांग्रेस, एमालेसहितका दलहरुको आन्दोलन र भारतीय दबावमा निर्णय उल्टियो ।

प्रचण्ड सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई हटाउने निर्णय गर्‍यो । तर, कांग्रेस र एमालेसहितका दलले राष्ट्रपति गुहारे र सेनाका परामाधिपतिका हैसियतमा डा.रामवरण यादवले कटवाललाई थामौती दिए ।

यो प्रकरणपछि माओवादीले नागरिक सर्वोच्चको नारा दिएर राष्ट्रपतिविरुद्ध आन्दोलन नै गरेको थियो ।

राष्ट्रवादका र लोकतन्त्रको चर्को कुरा गर्नेहरुलाई आफूले धेरै नजिकबाट नियाल्ने मौका पाएको भन्दै प्रचण्डले पशुपति, प्रधानसेनापति र राष्ट्रपतिको विषयमा आफ्नो बिचार नबदलिएको बताए ।

अहिले पनि बिचारको दृष्टिकोणले त्यहिँनेर छु

प्रधानमन्त्री प्रचण्डले आफू भावना र बिचारको दृष्टिकोणले  तीन पतिका सवालमा अहिले पनि त्यहिँनेर रहेको बताए ।

‘अहिले पनि भावनाको बिचारको दृष्टिकोणले म त्यहिँनेर नै छु, जहाँ त्यतिबेला थिएँ’ प्रचण्डले भने, ‘तर अनुभवको दृष्टिकोणले म आज नयाँ ठाउँमा छु र दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा अलि परिपक्व ढंगले ती बिचार र भावनाहरुलाई अगाडि बढाउन चाहेको छु ।’

प्रधानमन्त्री प्रचण्डले यसअघि भने, ‘पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै कन्फ्युजन अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर, जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’

तपाइको मत