१८ भदाै ०७४, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्न निर्देशन दिएसँगै बसेको त्रिवि परिषद्काे आकस्मिक बैठकले कलेजको सम्बन्धन स्थगन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयकाे कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले शनिबार उपकुलपति तीर्थ खनियाँलाई बोलाएर कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिँदै नभए तत्काल बर्खास्त गर्ने चेतावनी दिएपछि खनियाँले कार्यकारी परिषद्को आकस्मिक बैठक बोलाएर सम्बन्धन स्थगन गर्ने निर्णय गराएका हुन् ।
त्रिवि परिषद्को शनिबार बसेको आकस्मिक बैठकले कलेजको सम्बन्धन हाललाई स्थगन गरेको बताउँदै ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०’ बमोजिम भए/नभएको बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको जनाएको छ ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्रीले यसअघि दुईपटक निर्देशन दिइसकेको तर शनिबारको निर्देशनपछि मात्रै त्रिविले समिति गठन गरेको हो ।
यसैगरी स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले शनिबार नै प्रस्तावित कलेजको शिक्षण अस्पताल पनि बन्द गराउने निर्णय गरेका छन् ।
मन्त्री पोखरेलले डा. भोला श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन टोलीको सिफारिसका आधारमा मन्त्रालयको स्वीकृतिबिना अवैध रूपमा सञ्चालित अस्पताल बन्द गराउने निर्णय गरेका हुन् ।
यस्तै सहकुलपति शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि शनिबार नै प्रचलित कानुन र मापदण्ड अध्ययन गरेर सम्बन्धनको निर्णयमाथि समीक्षा गर्न निर्देशन दिएका छन् ।
गत साउन १२ को परिषद् बैठकले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो । साथै, सम्बन्धनपछि त्रिविका एक कार्यकारी सदस्यले प्रमुख दलका नेताहरू साथै प्रधानमन्त्री र शिक्षामन्त्रीको निर्देशनमा सम्बन्धन दिएको समेत बताएका थिए ।
त्रिविका उपकुलपति खनियाँ पनि सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरी सम्बन्धनको निर्णयको प्रतिरक्षामा थिए ।
स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख एवं छानबिन समितिका संयोजक डा. भोला श्रेष्ठले अनुगमनका क्रममा उक्त शिक्षण अस्पताल नियमविपरीत सञ्चालन गरेको पाइएकाे बताएका छन् ।
उनले प्रक्रिया पूरा हुनुअघि अस्पताल बन्द गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने मन्त्रीस्तरीय निर्णय भइसकेको भन्दै आइतबार सार्वजनिक (बकर इद पर्व) बिदा भएकाले सोमबार पत्राचार हुने बताए ।