१२ माघ ०७७, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर ‘प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्’ भनेर ओलीले दिएको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको हो ।
फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिस्वतन्त्रता विरुद्धको बर्बराहट भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।’
यस्तै प्रधानमन्त्रीको अभिव्यक्तिले अलोकतान्त्रिक साथै अधिनायक आकांक्षालाई थप उजागर गरेको भन्दै विज्ञप्तिमा अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान भएको समेत बताएको छ ।
यसैगरी सर्वोच्च अदालतमा भई रहेको बहसलाई ओलीले ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको समेत बताएको छ ।