३२ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन, निर्वाचन लगायतका विषयमा छलफल गर्न तीन दल र सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । छलफलमा कांग्रेस सभापति समेत रहेका देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओली लगायतका शीर्ष नेता सहभागी हुँदैछन् ।
बालुवाटार स्रोतकाअनुसार तीन दलको छलफलमा देउवाले संविधान संशोधनका लागि संसदमा विचाराधीन रहेको संशोधन विधेयक निर्णायार्थ प्रस्तुत गर्ने या प्रतिपक्षको सहयोगमा सहमतिमै लैजाने भन्ने एजेण्डा प्रस्तुत गर्नेछन् ।
यसैगरी बैठकमा संविधान संशोधनमा दुई तिहाईकोे प्रयास, चुनावको मिति घोषणा र निर्वाचन क्षेत्र निर्धारणमा सहमति साथै बाढीपहिरो, डुवान र त्यसपछिको अवस्थामा सरकारले गरेको प्रयास लगायत विषयमा छलफल हुने बताइएको छ ।
संविधान संशोधन विधेयक निर्णायार्थ प्रस्तुत गरे एमालेले यसअघि नै विपक्षमा मतदान गर्ने जनाइसकेको छ ।
देउवा निकटका कांग्रेस नेता रमेश लेखकका अनुसार आजको बैठकमा राजपाको माग अनुसार संशोधन विधेयकबारे प्रमुख दलबीच सहमति जुटाउने र नजिकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी हुनेछ ।
बुधबारबाट व्यवस्थापिका संसदमा संशोधनबारे छलफल सुरु भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहमतिमै संविधान संशोधन गराउने प्रयासमा छन् । सहमति नभएमात्रै मतदानका लागि पेश गर्ने उनको तयारी छ । साथै उनले तीन दलको बैठकपछि सर्वदलीय बैठक बोलाएका छन् ।