प्रधानमन्त्रीको कदम प्रतिगमन हो, स्टेप चाल्छु – गृहमन्त्री बादल

६ पुस ०७७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भनेका छन् ।

सोमबार बिहान मन्त्री निवास पुल्चोकमा आफूनिकट नेताहरूसँग छलफल गर्दै गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे आफ्ना धारणा सार्वजनिक गर्ने भन्दै यस्तो बताएको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार आज साँझसम्म विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे गृहमन्त्री बादलले आफ्ना धारणा सार्वजनिक गर्ने छन् ।

‘म स्टेप चाल्छु,’ बादललाई उदृत गर्दै ती नेताले भने, ‘अहिलेको स्टेप प्रतिगमन हो, भन्नुभएको छ ।’

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गृहमन्त्री बादल समूहमा उनीसहित पम्फा भुसाल र देव गुरूङ स्थायी कमिटी सदस्य रहेका छन् भने १ दर्जन बढी सांसद रहेका छन् ।