प्रधानमन्त्रीको चीन भ्रमण सोचे भन्दा सफल

१३ चैत, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चीन भ्रमण सोचेको भन्दा पनि राम्रो र सफल भएको भन्दै प्रशन्न बनेका छन् ।

आइतबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख एवं मन्त्री सोङ ताओ र बेलुका उपप्रधानमन्त्री वाङ याङसँगको छुट्टाछुट्टै वार्तालापपछि प्रधानमन्त्री प्रचण्ड उत्साहित बनेका हुन् ।

‘यी दुबै भेटहरुमा नेपाल र चीनवीचका आपसी विषयहरुमा खुलेर छलफल भए,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘यी भेटहरुबाट प्रधानमन्त्रीजी पनि उत्साही देखिनुभएको छ, चीन भ्रमण सदभाव भ्रमणमात्रै भएता पनि सोचेको भन्दा सफल भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजेदेखि करिब ४५ मिनेट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखसँग वान टु वान कुराकानी गरेका थिए । त्यसक्रममा दुई देशका कम्युनिष्ट पार्टीका वीचको आपसी सहकार्यका बारेमा कुराकानी भएको आचार्यले बताए ।

दुईजना वीचको भेट सकिएपछि नेपालका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसहितको टोलीसँग अन्तर्राष्ट्रिय विभागका अधिकारीहरुले लञ्च मिटिङ गरेका थिए ।

अन्तर्राष्ट्रिय विभागका प्रमुखसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले चीन सरकारका उप्रधानमन्त्री वाङ याङ सँग वन टु वन कुराकानी गरे । एकल कुराकानीपछि करिब डेढघण्टा नेपाली भ्रमण टोलीका सदस्यहरुसँग डिनर बैठक भयो ।

चिनियाँ उपप्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने- ‘सबै विषयमा खुलेर छलफल भयो । नेपालका चिनियाँ बैंकको शाखा खोल्नेबारे सकारात्मक कुरा भएको छ । तातोपानी नाका खोल्नेदेखि विगतका सन्धी सम्झौताहरु कार्यान्वयन गर्ने सम्मका विषयहरुमा सकारात्मक कुराकानी भएको छ ।’

सोमबार चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटपूर्व तयारी बैठक हुने आचार्यले जानकारी दिए ।

तपाइको मत