प्रधानमन्त्रीको बदनाम गर्न अनेकन् तत्वहरू सुनियोजितरुपमा सक्रिय

३१ असार ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको बदनाम गराउन अनेकन तत्वहरू सुनियोजितरुपमा सक्रिय रहेको बताएका छन् ।

सल्लाहकार थापाले “ग्लोबल वाच एनालाइसिस”को हवाला दिदैं केही अनलाइनले भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषण गरेको भन्दै यस्तो बताएका हुन् ।

“ग्लोबल वाच एनालाइसिस”को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ,” थापाले बुधबार बिहान जारी गरेको प्रेस नोटमा भनिएको छ, “प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा कुनै खाता र रकम नरहेको भन्दै उनले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कारबाही गर्न माग समेत गरेका छन् ।