प्रधानमन्त्रीद्वारा मन्त्री र राज्यमन्त्रीहरूलाई वर्तमान अवस्थाबारे जानकारी

२१ असार ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई शनिबार साँझ बालुवाटारमा बोलाएर वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएका हुन् ।

बैठकपछि एक मन्त्रीले अनौपचारिक छलफल भएको बताउँदै प्रधानमन्त्रीले नेकपाको आन्तरिक विवादका कारण केही समस्या उत्पन्न भएको जानकारी गराएको बताए ।

उनले कोरोना महामारीले मुलुकको अर्थतन्त्र समस्यामा रहेको यस्तो बेला पाटीमा आन्तरिक समस्या चुलिएको भए पनि आफू समस्या गर्न प्रयासरत रहेको र सबैलाई आफ्नो ठाउँबाट प्रयास गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेको बताए ।

प्रधानमन्त्रीले बैठकमा राष्ट्रपतिसँग सामान्य भेटघाट गरेको र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउने काम भएको समेत बैठकमा बताएका थिए ।

शनिबार राष्ट्रपतिसँगको भेटघाटलगतै प्रधानमन्त्रीले सबै मन्त्रीहरूलाई बालुवाटारमा बोलाएका थिए । जसले केही निर्णय हुनलागेको अडकलबाजी गरिएको थियो ।