
५ कार्तिक ०८२, काठमाडौं । कलाकारहरूले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् ।
समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न सुझाएका हुन् ।
‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला । पहिला यो देश बचोस् । देश बस्नलायक होस् । यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस् । हामी साथमा छौँ ।’
‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक ठिक दिशामा अघि बढ्नेछ। यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ ।’

यो परिवर्तन नरुचाएकाहरूले सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइरहेको भन्दै कलाकारहरूले दुस्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, (दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मा लगायतको उपस्थिति थियो ।













