२३ कार्तिक ०७४, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा राष्ट्रपति र मुख्यमन्त्री बन्न कोही जन्मिएका छैनन् ? भनी प्रश्न गरेका छन् ।

बिहीबार काठमाडौंको क्षेत्र नम्बर ४ मा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई सो प्रश्न गरेका हुन् ।
‘मधेसतिर भाषण गर्दै हिँडेको सुनेँ, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’ एमाले अध्यक्ष ओलीले भने ।
मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुनसक्ने समेत बताए ।
राजदूतसँग भन्ने हिम्मत पनि छैन, कठैबरि !
भारतसँग एक शब्द बोल्नुपर्यो भने ४ पटक चश्मा मिलाउनु पर्ने प्रधानमन्त्री देउवाले भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नगरेकै कारण सीमा-नाकामा समस्या देखिएको ओलीको आरोप छ ।
भारतसँग कुरा गर्न डराएकै कारण सीमा-नाकामा ट्रक र ट्यांकरहरु रोकिएको बताउँदै ओलीले भने, ‘भारतसँग एक शब्द बोल्नुपर्यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, पाँच पटक दौरा तान्नुपर्छ, उहाँ भन्न सक्नुहुन्न, राजदूतसँग भन्ने हिम्मत पनि छैन, कठैबरि !’
लोकतन्त्र दरबारमा बुझाउनेले ‘लोकतन्त्र’को पाठ सिकाउने ?
एमाले अध्यक्ष ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रधानमन्त्री देउवाले प्रश्न उठाएको भन्दै जसले पटक-पटक लोकतन्त्र दरबारमा बुझायो, उसैले लोकतन्त्रको पाठ सिकाउन नसुहाउने बताए ।
‘देउवाजीले राणा सिध्यायौं, पञ्चायत सिध्यायौं अब सिध्याउने पालो प्रतिपक्षलाई हो भन्नुभएछ,’ एमाले अध्यक्ष ओलीले भने, ‘राणा सिध्याउने बेला उहाँको अस्तित्व नै थिएन, पञ्चायत सिध्याउने बेला हामी दुःख कष्ट सहदै लड्दा उहाँ लण्डनका गल्लीमा घुम्दै हुनुहुन्थ्यो, अहिले प्रतिपक्ष सिध्याउँछु भन्दै हिँड्नुभएको छ, मंसिर २१ पछि उहाँको प्रतिपक्ष सत्तामा हुन्छ र उहाँ प्रतिपक्षमै बस्ने हो ।’













