प्रधानमन्त्रीलाई निर्वाचनबाट नभाग्न वाम गठबन्धनको सुझाव

२६ असोज ०७४, काठमाडौं ।  प्रधानमन्त्री शेर बहादुर देउवालाई वाम गठबन्धनका शीर्ष नेताले प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट नभाग्न र निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद फेरबदल नगर्न सुझाव दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन र आचारसंहिता विपरीत कार्य नगर्न सुझाव दिएका हुन् ।

छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेस चुनावबाट भाग्ने बहाना खोजिरहेकाले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराइएको बताए ।

प्रधानमन्त्री देउवाले पनि छलफलका क्रममा मंसिर १० र २१ को निर्धारित निर्वाचन कुनै हालतमा तलमाथि नहुने बताए । साथै, उनले निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य नगर्ने प्रतिबद्धता जनाएको एमाले नेता नेम्वाङले बताए ।

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे तीन दलका शीर्ष नेताको बैठक शुक्रबार बस्ने बताइएको छ ।

तपाइको मत