
२४ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएर आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीको कार्य व्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन भन्दै खतिवडाले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘त्यसकारण पत्र पठाएर राजीनामा दिएको छु । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने मनशायका साथ मैले मार्ग प्रशस्त गरेको हुँ ।’
खतिवडाले आफ्नो नौ महिने कार्यकालमा १४औं योजनाको आधारपत्र तयार पारिएको र उक्त आधारपत्र संविधान कार्यान्वयनमा नै केन्द्रित रहने उल्लेख गर्दै सुरुआतका समयमा भारतको अघोषित नाकाबन्दीले पारेको प्रभाव कम गर्न केन्द्रित रहेको बताए ।













