
१ साउन ०७७, काठमाडौं । यातायात मजदुर र व्यवसायीको संयुक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूहरुको समस्या राखेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर यातायात मजदुर र व्यवसायीहरुको संयुक्त टोलीले बैंकबाट लिइएको कर्जा ब्याज मिनाहा, पुनर्कर्जाको सुविधा, चालक तथा सहचालकको बिमालगायतका मागहरु सम्बोधन गर्न आग्रह गरेका हुन् ।
यस्तै संयुक्त कार्यदलले आजै पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आफ्ना सवालहरु सम्बोधन गर्न आग्रह गरेका छन् ।

हिजो मात्रै टोलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर गुनासो पोखेका थिए । केही दिन अघि उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसँग भेटेर आफ्नो कुरा राखेका थिए ।
आजको भेटमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताएका थिए भने अर्का अध्यक्ष प्रचण्डले राहत भने पनि सुविधा भने पनि केही न केही गरिने आश्वासन दिएका थिए ।
यातायात मजदुर र व्यवसायीहरुले प्रधानमन्त्री र पार्टीका शीर्ष नेतृत्वलाई भेट गरे पनि आजसम्म आश्वासनबाहेक केही हात पार्न सकेका छैनन् ।













