प्रधानमन्त्रीले अघि सारे, मुद्धा फिर्ता र संविधान संशोधन गर्ने नयाँ मिति

११ असोज, काठमाडौं । मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिन लागेको भन्ने शंका बोकेर बालुवाटार पुगेपछि ‘प्रचण्ड’ले मोर्चासामू मुद्धा फिर्ता र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने नयाँ मिति अघि सारेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मधेसी मोर्चाका नेताहरुलाई सरकारले सकेसम्म दशैं अघि नै दर्ता गर्ने गरी मस्यौदा बनाऔं भन्दै सरकार र आफूमाथि आशंका नगर्न आग्रह गरेका छन् ।

बालुवाटार बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको चासोबारे जानकारी गराएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले सकभर दशैं अघि नै संशोधन दर्ता गर्ने र मुद्धा फिर्ता लिने आश्वासन लिएपछि मधेसी मोर्चाका नेताहरु प्रसन्न भई फर्किएको बैठकमा सहभागी नेताले बताएका छन् ।

जिल्ला विकास इलाकालाई आधारमा बनाएर स्थानीय तहको पुनर्संरचना :

मधेसी मोर्चामा आवद्ध दलका नेताहरुले तत्कालीन जिल्ला विकासका इकाइहरुका आधारमा स्थानीय तह पुनर्संरना गर्ने तीन दलको सहमतिप्रति आपत्ति जनाएका छन् ।

सरकारले स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगको मापदण्ड संशोधन गरेको छ । अब तत्कालीन जिल्ला विकास इलाकालाई मुख्य आधारमा बनाएर स्थानीय तहको पुनर्संरचना गर्नु पर्नेछ ।

आयोगले ५६५ स्थानीय तहको संख्या प्रस्ताव गरेर ५३ जिल्लाबाट प्रतिवेदन लिइसकेको अवस्थामा सरकारले तीन दलको सहमति अनुसार मापदण्ड संशोधन गरेको हो । कांग्रेस, एमाले र माओवादीले आइतबार मात्र इलाकालाई मुख्य आधारमा बनाएर स्थानीय तहको पुनर्संरचना गर्ने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दलीय सहमति अनुसार आयोगलाई स्थानीय तह पुनर्संरचना गर्न इलाकालाई मुख्य आाधार बनाउनु पर्ने र त्यो इलाकामा अहिले कुनै नगरपालिका भए नगरपालिका नै सिफिारिस गर्नु पर्ने नयाँ टीओआर दिएको छ ।

तपाइको मत