प्रधानमन्त्रीले बालुवाटार बोलाएर एमसीसी पास गर्न प्रस्ताव गरेको सानेपामा चर्चा

२२ असार ०७७, काठमाडौं । नेपाली कांग्रेसको सानेपामा जारी बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापतिलाई बालुवाटारमा एउटा विषयमा छलफल गर्न बोलाएर अर्कै विषय प्रस्ताव गरेको चर्चा छ ।

बैठकमा कांग्रेस सभापति शेरबहदुर देउवालले केही दिनअघि मात्रै संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्नुछ भनी बालुवाटार बोलाएका प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना मलाई एमसीसी पास गर्न आग्रह गरेको बताएका हुन् ।

कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको भनाई उदृत गर्दै भने, ‘एमसीसीलाई हाउसमा पेश गर्न सभामुख अग्नि सापकोटाले मान्दै मानेनन्, अब कार्यव्यवस्था समितिको बैठक राखौं अनि कांग्रेस र हामी मिलेर एमसीसीलाई बैठकको एजेण्डा बनाऔं । भोटिङमा लगेर बहुमतबाट पारित गरौं ।’

ती नेताकाअनुसार प्रधानमन्त्री ओलीको आलोचना गर्दै सभापति देउवाले बैठकमा भने, “ओलीले मलाई ठगे, एमसीसी पास गरौं भनेर पठाएको भोलिपल्टै कसैलाई थाहा नदिई संसद अधिवेशन पो अन्त्य गरे ।”

यस्तै प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्नु पर्नेछ भन्दै आफूलाई असार १७ गते बालुवाटार बोलाएको देउवाले बैठकमा जानकारी गराएका थिए ।

नेकपाका अध्यक्ष समेत रहेका ओली सरकारले सभामुखसँग समेत सल्लाह नगरी असार १८ गते संसद बैठक स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

संसद अधिवेशन अन्त्य भएका दिन प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी नेता शेरबहादुर देउवासँग यस विषयमा परामर्श गरेको बताएका थिए । तर, बजगाईको उक्त दाबीलाई नेकपाका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा दुबैले अस्वीकार गरेका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकमा संसद अधिवेशन स्थगन नगरौं भन्दाभन्दै जबरजस्ती स्थगन गरेको बताइसकेका छन् भने कांग्रेस सभापति देउवाले पनि जारी बैठकमा यसबारे ओलीले आफूसँग कुनै छलफलै नगरेका बताएका छन् ।