२६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि विशेष प्याकेज घोषणा गरेका छन् ।
बुधबार चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सडक निर्माणलाई विशेष प्राथमिकता दिँदै नारायणी नदी किनारमा तबटन्ध, ल्याण्डफिल साइट, अण्डरग्राउण्ड पार्किङसहित बहु-तले सब्जीमण्डी, ढल निकास लगायतका विषयहरु विशेष प्याकेज घोषणा गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने महत्वपूर्ण माध्यम औद्योगिक प्रदर्शनी केन्द्रहरु हुने बताउँदै औद्योगिक प्रदर्शनी केन्द्र चितवन जिल्लालाई औद्योगिक नगरी बनाउन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
नेपालको प्रमुख एजेण्डा भनेको आर्थिक सम्वृद्धि भन्दै प्रचण्डले कूल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने विषयलाई पहिलो प्राथमिकतामा राख्न ढिलो भइसकेको बताउँदै संविधानको व्यवस्थाअनुरुप सरकार र निजी क्षेत्रको सहकार्यमा उद्योग व्यापारको क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताए ।
प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई लालपुर्जा बितरण
प्रधानमन्त्री प्रचण्डले चितवनमा रहेका सुकुम्बासी जनतालाई जग्गाको स्वामित्व पत्र लालपुर्जा हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको मंगलपुरमा रहेको लालबस्तीका १ सय ६० सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेका हुन् ।
लालपुर्जा बितरण गर्दै प्रधानमन्त्रीले सुकुम्बासी समस्या नेपालको जटिल र दीर्घकालीन समस्या रहेको बताउँदै आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सरकार र राज्यका कामलाई गरीबको हितमा केन्द्रित गर्न खोजिएको बताए ।
प्रधानमन्त्रीले सुकुम्बासी समस्याको दीर्घकालीन समधानका लागि सरकारले छिटै नयाँ नीति र कार्यक्रम अघि सार्ने बताए ।
सरकारबाट थप बजेट व्यवस्था गरी कार्यान्वयनमा रहेका योजनाहरु
१. पटिहानीबाट सीतामाई हुंदै केसरबाघसम्मको १० किलोमिटरमा जंगल किनारामा जंगली जनावरबाट सुरक्षाका लागि फाउण्डेसन सहित कोम मेस जाली लगाउने कार्यका लागि थप रु. १ करोड ७० लाख बजेट व्यवस्था गरि काम सुरुवात भइसकेको छ ।
२. बीरेन्द्र क्याम्पस पछाडि एकीकृत ढल आयोजनाको लागि थप रु. ५० लाख बजेट व्यवस्था गरी काम भइरहेको छ ।
३. बाल मन्दिर सडक निर्माण र सोलारको लागि रु.५० लाख थप रकम व्यवस्था गरी हाल सो काम अगाडि बढिरहेको छ ।
४. यसैगरी पटिहानी धनौजी चोकबाट सितामाई जाने सडक निर्माणको लागि थप ४५ लाख ठिमुवा देवघाट रामनगर धार्मिक पर्यटन मार्ग निर्माणका लागि रु. ४० लाख थप रकम व्यवस्था गरी हाल कार्य भइरहेको छ ।
५. नारायणी नदी तटबन्धन गरी चक्रपथसहितको सडक निर्माणका लागि रु. ५० लाख थप बजेट व्यवस्था गरी कामलाई अगाडि बढाइएको छ ।
६. भरतपुर उपमहानगरपालिकाको जग्गामा सिटी हल निर्माणको लागि रु.४० लाख थप बजेट व्यवस्था गरिएको छ ।
७. ल्याण्डफिल साइट निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था गरिएको छ ।
८. भरतपुर वडा नं. ४ मा अण्डरग्राउण्ड पार्किङसहित बहुतले सब्जीमण्डी निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था भइसकेको छ ।
नयाँ योजनाहरु
१. टाउन जगतपुर हुंदै राप्ती पुल हुलाकी सडक कालोपत्रे गर्ने कार्यको लागि १ करोड ९९ लाख, चनौटे हुँदै गोलाघाट सडक कालोपत्रे गर्नको लागि रु. १ करोड ५० लाख व्यवस्था भइसकेको छ ।
२. यस्तै मंगलपुर शिवनगर सडकको स्तरोन्नतिको लागि रु. १ करोड ८० लाख, शुक्रनगर हुँदै मेघौली जाने सडक कालोपत्रे गर्ने कार्यको लागि रु. १ करोड ९९ लाख र गीतानगर बजारबाट शिवनगरबरको बोट हुँदै चनौली सम्मको सडकको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
३. माडी खैरहनी र शितलपुर माडीमा एकता स्तम्भ निर्माणका लागि रु.५०/५० लाख, भरतपुरमा यातायात सेवा केन्द्रको लागि रु. १ करोड ९९ लाख रकम व्यवस्था गरिएको छ ।
४. यसैगरी भरतपुर गोद्राङ देवनगर, सीतामाई हुंदै पटिहानी बजारसम्मको सडक कालोपत्रे गर्नको लागि रु. १ करोड, नारायणगढ पुल्चोक, शिवघाट, विजयनगर, सीमरी टाउन साझापुर हुंदै गोलाघाटसम्मको पीच बाटो निर्माणको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
५. जगतपुर कसराचोक ध्रुवघाट शुक्रनगर हुंदै पर्साढाप सम्मको सडक स्तरोन्नतिको लागि रु. १ करोड, हुग्दी हात्तिवाङ सिराइचुली टाडीसम्मको पर्यटकीय सडकका लागि रु.१ करोड ५० लाख, भरतपुर विशालचोक भोजार्ड लंकालाइन खालेसिमल पिठूवा चैनपुर बीरेन्द्रनगर भण्डारा बैकल्पिक हाइवे निर्माणका लागि १ करोड ८० लाख, पार्वतीपुर बजार विजयचोकबाट दक्षिण मधुपुरी बजार हुंदै कसराचोक सम्मको कालोपत्रेका लागि १ करोड ५० लाख व्यवस्था गरिएको छ ।
६. मंगलपुर देखि दक्षिण फूलवारी राधापुर मन्दिरसम्म कालोपत्रेका लागि रु. १ करोड, सुन्दरबस्ती चोकबाट पूर्व बरौजी चोक हुंदै उज्जलनगर जंगलसम्मको सडक कालोपत्रेको लागि रु. १ करोड ५० लाख, भरतपुर न.पा. त्रिचोकदेखि धर्मचोक लंकुसम्म सडक कालोपत्रैका लागि रु. ८० लाख, भरतपुर न.पा. बनदेवि मन्दिर बरण्डाभार देखि काँडाघारीचोक सम्मकोे सडक कालोपत्रेका लागि रु. ८० लाख र भ.न.पा. २५ सुइदार चोकदेखि सुन्दरबस्ती चोक हुँदै पकौडीसम्मको सडक कालोपत्रैका लागि रु.१ करोड ५० लाख व्यवस्था गरिएको छ ।
७. नारायणी उच्च मा.वि. भरतपुर १० पूर्वाधार विकासका लागि ८० लाख र सर्वशान्ति उच्च मा.वि. दाह्रचोक चितवन भवन तथा खानेपानीका लागि रु ९० लाख व्यवस्था गरिएको छ ।
प्रक्रियामा रहेका आगामी केही दिनभित्र निर्णय हुने विषयहरु
१. भरतपुर नगरपालिका वडा नं-१ ठिमुरामा रंगशाला निर्माणका लागि रु. ५० करोड बजेट व्यवस्था गरी तत्काल काम अगाडी बढाइने जानकारी गराउँछु ।
२. भरतपुर र पर्सामा ४/४ करोडको लगानीमा कवर्डहल निर्माण गरिने जानकारी गराउँछु ।
३. यसैगरी चितवन जिल्लाका पाँचवटै निर्माण क्षेत्रमा खेल मैदान निर्माणका लागि ५०/५० लाख बजेट व्यवस्था गरिने समेत यसै अवसरमा जानकारी गराउँछु ।
४. भरतपुर अस्पताललाई स्तरोन्नति गरी केन्द्रीय अस्पताल बनाइने र यसै वर्षदेखि स्नातक र स्नातोकोत्तर तहको पढाई शुरु गर्ने गरी तयारी भइरहेको जानकारी गराउँछु ।
५. विशेष आर्थिक क्षेत्र विकास समितिअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।
६. भरतपुरमा घरेलु तथा साना उद्योग कार्यालयको कम्पाउण्डभित्र प्रदर्शनी कक्ष स्थापना गर्न बजेट तथा कार्यक्रम व्यवस्था गर्ने गरी प्रक्रिया सुरुवात भइसकेको छ ।