प्रधानमन्त्रीले ताजा जनादेश भनेर गलत ब्याख्या गरिरहेको बारका अध्यक्ष श्रेष्ठको भनाई

२१ पुस ०७७, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले काम चलाउ सरकार प्रधानमन्त्री खड्ग प्रसाद ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

काम चलाउ सरकार प्रधानमन्त्री रहेका ओलीलाई अहिलेको अवस्थामा कि संसदको सामना गर्ने, कि राजीनामा दिने विकल्पमात्रै संविधानले दिएको बताउँदै उनले भने ‘यो कदम असंवैधानिक छ । आफूले काम गर्न नसके राजीनामा दिनुपर्नेमा प्रतिनिधि सभालाई विघटन गरिएको छ ।’

प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था संविधानमा नरहेको भन्दै श्रेष्ठले परम्परागत अभ्यास भनेर ओलीले दिएको अभिव्यक्ति असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए ।

ताजा जनादेश भनेर प्रधानमन्त्री ओलीले गलत ब्याख्या गरिरहेको भन्दै बहुमतको सरकार हुँदाहुँदै ताजा जनादेश भन्ने संविधानमा कहीँकतै उल्लेख नरहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।