१४ जेठ ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सञ्चारकर्मीहरुलाई भ्रष्टाचार र अनियमितताका समाचार निर्भिकतापूर्वक लेख्न आग्रह गरेका छन् ।
सरकारले स्वास्थ्य सामग्री खरिद प्रकरणलाई मिडियाले बाहिर ल्याएपछि सञ्चारमाध्यमले अस्थिरता फैलाएको आरोप लगाएको भन्दै मंगलबार प्रेस युनियनको २९औं स्थापना दिवसको अवसरमा देउवाले यस्तो बताएका हुन् ।
“स्वास्थ्य सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण सञ्चार माध्यममा आए, तपाईंहरूले निडरतापूर्वक लेख्नुभयो,” देउवाले भने, “प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कारवाही गर्नुपर्नेमा उल्टै सञ्चार माध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाउनुभयो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नदिन आग्रह गर्दै उनले भने, “म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।”
यस्तै कांग्रेस सभापति देउवाले कोरोना भाइरसको महामारी फैलिरहेका बेला पत्रकारहरुलाई सरकारले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु पर्ने पनि बताए ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले आफ्नो संगठनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको र श्रमजीवी पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीव ढुंगाना, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, प्रेस युनियका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी लगायतले बोलेका थिए ।