७ पुस ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको राष्ट्रिय पार्टीको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका भए पनि सहमति नजुट्दा बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा देउवा सरकारले एकल संक्रमणीय मतप्रणाली प्रस्ताव गरेको भन्दै एमाले र माओवादी केन्द्र अध्यादेशको विपक्षमा छन भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी प्रस्तावको समर्थनमा उभिएका छन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा उल्लेख रहेको एकल संक्रमणीय मतप्रणालीमा फोरम र राजपाको पनि सहमति जनाएको बताए ।
‘एमाले अध्यक्ष ओलीले यो असंवैधानिक हो, एकल संक्रमणीय मिल्दैन भन्नुभयो,’ निधिले भने, ’महन्थ ठाकुर र उपेन्द्र यादवजीले हामी एकल संक्रमणीय पक्षमा छौं भन्नुभयो ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न रहेको र अध्यादेश प्रस्तुत गर्दा सहमति नभएको बताएका छन् ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यादेश प्रस्तुत गर्दा सहमति भएन र सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न भयो । त्यसैले यसमा निष्कर्षमा पुग्न सकिएन ।’
नेता श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रपति कहाँ जुन अध्यादेश प्रस्तुत भएको छ त्यसमा सहमति चाहियो भनेको बताए ।