प्रधानमन्त्रीले महाअभियोगको सामना गर्नुपर्ने दिन आउन सक्ने यादवको चेतावनी

७ माघ ०७७, सप्तरी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कामचलाउ सकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जे चाहन्छु त्यही हुन्छ भन्ने नसोच्न चेतावनी दिँदै महाअभियोगको सामना गर्नुपर्ने दिन आउन सक्ने बताएका छन् ।

अध्यक्ष यादवले बुधबार सप्तरीको राजविराजमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै संविधान विपरीत  प्रधानमन्त्री ओलीले मनोमानी तरिकाले अघि बढिरहे महाअभियोग सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको जस्तै हुनसक्ने बताउँदै उनले भने, “लोकतन्त्रमा यो सम्भव छ, ट्रम्पमाथि जसरी महाअभियोग लाग्यो, भोलि नेपालमा पनि असंवैधानिक तरिकाले संसद विघटन गर्ने दुवै जनाविरुद्व यस्तो नहोला भन्न सकिन्न ।”

असंवैधानिक कदम चालेको भनेर प्रधानमन्त्रीले स्वयं स्वीकारेको भए पनि यतिबेला संसद विघटनलाई सदर गराउन सर्वाेच्चलाई धम्क्याउने काम गरिरहेको नेता यादवले आरोप समेत लगाए ।

यस्तै कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएको आरोप लगाए ।

“अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो, महतेले भने, “ओली महाप्रतिगमनकारी हुन्, उनले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे, उनी संविधान र जनता दुबैका हत्यारा हुन् ।”