४ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
बिहीबार राति साढे १० बजे मोदीले टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।
टेलिफोन संवादमा मोदीले प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको धारणा ब्यक्त गरेका छन् । मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद व्यक्त गर्दै आफ्नो ध्यान विकास र समृद्धिमा केन्द्रित रहेकाले भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने धारणा राखेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बिहीबार नै मोदीले भारतीय राजदुत मञ्जितसिंह पुरीमार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाएर आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । नेपाल र भारतको प्रगाढ विश्वास, सदभाव र पारस्परिक विश्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको पत्रमा उल्लेख छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि बिहीबार नै प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर बधाई दिएकी छिन् ।













