२७ बैशाख ०७८, काठमाडौं । एमालेका अध्यक्ष रहेका काम चलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका सांसदको समेत मत पाएनन् ।
विपक्षी दलबाट स्वेच्छाचारी, अलोकतान्त्रिक सरकार भनेर आलोचित हुँदै आइरहेको प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा आफ्नै पार्टीका सांसदको मत समेत गुमाएका हुन् ।
आजको संसद बैठकमा एमालेकै वरिष्ठ नेता माधव नेपाल, झनाथ खनाल समूहका २८ जना सांसद अनुपस्थित भएपछि ओलीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार नेपाल–खनाल समूहका सांसद योगेश भट्टराई, झलनाथ खनाल, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, भीमवहादुर रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने आजको बैठकमा सहभागी भएनन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले ९३ मत पाएका थिए भने विपक्षमा १२४ र १५ मत तटस्थ खसेको थियो ।