१० पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय (प्रचण्ड–माधव) समूहले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रको हत्या गर्न लागेको बताएका छन् ।
आज नेकपाको तेस्रो केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भन्दै उनले संविधान र गणतन्त्रको हत्या गर्न लागेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा ओलीले बयलगाडाको कथा सुनाएर बसेको सबैले सुनेको बताएका थिए ।
“आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामी सबैले सुनेकै हौँ,” ओलीलाई प्रधानमन्त्री बनाएको बखत स्मरण गर्दै प्रचण्डले भने, “तर आन्दोलन सफल भएपछि उहाँले म पनि गणतन्त्र स्वीकार्छु भन्नुभयो । हामीले होला भनेर विश्वास गर्यौं तर मौका कुरेर बस्नुभएको रहेछ ।”
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीलाई गणतन्त्र विरोधी मान्छे रहेको बताए ।
ओलीलाई गणतन्त्रप्रति कुनैपनि अपनत्व नरहेको बताउँदै नेपालले भने, “उहाँलाई संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अपनत्व छैन, उहाँ गणतन्त्र विरोधी मान्छे हो ।”
यस्तै कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओली गोमन साप जस्तै रहेको भन्दै पूर्वएमालेको आठौं माहाधिवेशनको घट्नाक्रम सुनाएका थिए ।
नेता खनालकाअनुसार महाधिवेशनमा ओलीले अध्यक्ष पदमा हार व्यहोरेपछि प्रतिशोधको पालेका छन् ।