प्रधानमन्त्री केपी शर्मा ओलीले गरे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल

२९ चैत ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

शनिबार भिडियो कन्फरेन्सका माध्यमबाट प्रधानान्त्री ओलीले कोरोना रोकथामका लागि लकडाउनलाई प्रभावकारी बनाउने विषयमा प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीले छलफलमा आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा थप कडाइ गरिने, यतिबेला भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने, साथै भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने र लापरबाही नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेको पनि सल्लाहकार थापाले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न निर्देशन दिएको पनि थापाले बताए ।