३२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले ९ बुँदे ज्ञापन-पत्र बुझाएको छ ।

अध्यक्ष किरणले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासीसँग सम्बन्धित ९ बुँदे ज्ञापनपत्र बुझाउँदै नक्कली सुकुम्बासी छुट्याउन, सुकुम्वासीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी हाल वस्दै आएका स्थानबाट नहटाउन माग गरेको छ ।
क्रान्तिकारी माओवादीले ज्ञापनपत्रमा सुकुम्वासी वस्तीमा खानेपानी र विजुली बत्तीको व्यवस्था गर्न, उनीहरुलाई जग्गाधनी पूर्जा दिन तथा औषधि उपचारमा छुट दिन माग गर्दै कञ्चनपुरको कृष्णपुरमा सुकुम्वासी बस्ती भत्काइएको, सर्लाहीमा सुकुम्वासीले लगाएको बाली नष्ट गरिएको तथा काठमाडौंको विष्णुमती नदी किनारमा सुकुम्वासी बस्ती खाली गराउन निकालिएको सूचनाको विरोध गरेको छ ।
विना विकल्प सुकुम्वासीहरुलाई हाल बसोबास गर्दै आएको स्थानबाट नहटाउने प्रतिबद्धता जनाएका प्रधानमन्त्री प्रचण्डले सुकुम्वासी बस्तीमाथि आफू प्रधानमन्त्री भएपछि कतै पनि वस्ती हटाउन निर्देशन नदिएको बताए ।













