प्रधानमन्त्री देउवा मन्त्रिमण्डल विस्तारको तयारीमा

१८ असार ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ता भित्र मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तारका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन् ।

एक हप्ता भित्र मन्त्रीमण्डल विस्तार हुने गरी प्रधानमन्त्रीले पार्टी भित्र र बाहिर आवश्यक छलफल गरिरहेको  उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ औं वार्षिक दिवस समारोहबाट बाहिरिने क्रममा उनले संचारकर्मी माझ मन्त्रीमण्डल विस्तारमा अव ढिलाई नहुने पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवाले स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने बताएका थिए।

प्रधानमन्त्री देउवाले गत जेष्ठ २४ गते पहिलो चरणमा ३ वटा उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई धेरै आकांक्षी भएकाले पार्टी भित्रैबाट मन्त्री चयन गर्न पनि सकस परेको छ ।

तपाइको मत