२९ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीका मागका सम्बन्धमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारी वार्ता टोलीका सदस्यहरुसँग छलफल सुरु गरेका छन् ।
दिउँसो ३ बजेबाट सुरु भएको छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव सहभागी छन्। छलफल चिकित्सा शिक्षा विधेयकको विषयमा केन्द्रित रहेको बताइएको छ ।
डा. केसीले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाएका छन् । डा. केसी २१ दिनदेखि ११ औँ आमरण अनशनमा छन् । छलफलमा डा. केसी पक्षका वार्ता टोलीलाई भने बोलाइएको छैन ।
सरकारी वार्ता टोलीसँगको छलफलमा जानुभन्दा पहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भेट्न आएको प्रतिनिधि मण्डलसँग भेट गरेका थिए ।
भेटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका थिए । भने प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उहाँले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।