२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यलाई लिएर नेपालमा उठेको प्रश्नको जवाफ दिँदै आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई थप सुदृढ भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै कुरा गर्दै आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा असर नगर्ने बताएका छन् । उनले भारत र चीनसँगको सम्वन्धका आ-आफ्ना आयामहरु छन् भन्दै त्यही आयामहरुको परिचालनले छिमेकीसँगको सन्तिुलित नीतिमा कुनै पनि असर नपर्ने बताएका हुन् ।
सहमति भएका विषयहरुमा अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको बताए ।