प्रधानमन्त्री र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू बीच छलफल

२२ जेठ ०७७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूसँग छलफल गरेका छन् ।

चैत ११ गतेदेखि सरकारले लागू गरेको बन्दाबन्दी आर्थिक तथा सामाजिक क्षेत्रमा असर परेको र बन्दाबन्दीको स्वरुप परिवर्तन गर्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा छलफल गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको नियन्त्रण, रोकथाम र उपचार साथै आगामी रणनीतिका सम्बन्धमा सम्बद्ध पक्षसँग प्रधामन्त्रीले गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

“अर्थशास्त्री, योजनाविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, स्वास्थ्यकर्मी, नर्सहरूसँगको यो बैठक महत्वपूर्णरूपमा सम्पन्न भयो” उनले बैठकपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

उक्त छलफलमा विभिन्न क्षेत्रका २५ जना विषय विज्ञ साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको पनि सहभागिता रहेको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।