७ चैत, काठमाडौं । बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध भएका छन् ।
सोमबार विहान र साँझ गरेर दुई पटक नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले र राप्रपा नेताहरुबीच भएको छलफलमा वैशाख ३१ को चुनाव सम्पन्न गर्ने र निर्वाचन गरे वापत उत्पन्न हुने समस्याको पनि मिलेर सामना गर्ने समझदारी भएको हो ।
साथै मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्दै चुनावमा ल्याउन पहल गर्ने चार दलबीच समझदारी भएको छ ।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव कुनै हालतमा हुने भन्दै शंका नगर्न आग्रह गरेका छन् ।
सिंगो देश चुनावको समर्थनमा रहेका र तराई मधेसका जनता पनि चुनावको पक्षमा रहेका आफ्नो बुझाइ रहेको सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, निर्वाचन गर्नैपर्छ र म निर्वाचन गर्छु । मैले मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई पनि यहि कुरा भनेको छु ।’
प्रधानमन्त्री प्रचण्डले सीमांकन हेरफेर अहिले सम्भव नभएको भन्दै बाँकी विषयलाई सम्बोधन गरेर अघि जान प्रस्ताव गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेताहरुले सीमांकन बाहेकका अन्य विषयमा छलफल गर्न सकिने संकेत दिएका छन् ।
तर, संविधानमा पहिलो संशोधन गर्दा पनि समस्या समाधान हुन्छ भनेको तर नभएको स्मरण गर्दै गराएको भन्दै मधेसी मोर्चा चुनावमा आउने सुनिश्चितता खोजेका छन् ।