१२ कार्तिक ०८२, काठमाडौं । जेनेरेशन जेड (जेन-जी) आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर पड्काउँदै गरेको भिडियो बनाउने व्यक्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका – १० का २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जीन र १२ राउण्ड गोली पनि बरामद भएको छ । पक्राउ परेकामध्ये समीरले जेनजी आन्दोलनमा लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो बनाएका थिए ।
गोली चलाउने समीर यसअघि प्रहरी वृत्त सोहैखुट्टेले पक्राउ गरेर गत भदौको ६ गते अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको पटके रहेको प्रहरीले जनाएको छ ।













