२२ साउन ०७४, राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रहरी चढेको भ्यान एम्बुसमा परेको छ ।
गएराती१० बजेतिर गस्तीको क्रममा निस्केको ईलाका प्रहरी कार्यालय कडरवोनाको भ्यान सुरुङ्गा नगरपालिका ६ स्थित सडक खण्डमा एम्बुसमा परेको हो ।
प्रहरीलाई लक्षित गरी सडकमै खाल्डो खनी एम्बुसका लागि प्रयोग गरिएको कुकर बम विस्फोट हुँदा प्रहरी निरीक्षक राजेन्द्र यादवसहित ३ जना प्रहरी सामान्य घाइते भएका छन् भने, प्रहरी भ्यानमा समेत क्षति पुगेको छ ।
प्रहरी निरीक्षक यादवले बा १ झ ७३९२ नम्बरको उक्त प्रहरी भ्यानको अग्रभागमा सामान्य क्षति भएको तथा आफूहरुलाई पनि सामान्य चोट मात्र लागेको बताएका छन् ।
‘नियमित गस्तीको क्रममा निस्केका थियौं, सुरुङ्गा नगरपालिका ६ स्थित सडकखण्ड पार गर्नै लाग्दा अचानक अज्ञात समूहले राखेको एम्बुसमा प¥यौ’ प्रहरी निरिक्षक यादवले भने, ‘भाग्यले ठूलो दुर्घटना हुनबाट जोगियौं ।’
यसैबीच तराईमा भूमिगत एवम् सशस्त्र आन्दोलनरत प्रगतिशील तराई मुक्ति मोर्चाले सो घटनाको जिम्मा लिएको छ ।
बम विस्फोट गराउने व्यक्ति र समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।