२ फागुन, काठमाडौं । प्रहरी नियमावली संशोधन गर्दै सरकारले एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।
सोमबार साँझ आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले, सर्वोच्च अदालतले आईजीपी नियुक्तिको बाटो नखुलुन्जेसम्मका लागि एआईजी डा. पोखरेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । डा.पोखरेल नेपाल प्रहरी अस्पतालका प्रमुखका साथै, प्राविधिक तर्फका डाक्टर पनि हुन् ।
प्राविधिकलाई निमित्त दिने विषयमा नजर बस्ला कि भन्ने केही मन्त्रीहरुको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो एक पटकका लागि भएको बताएका छन् । तर, संशोधनमा त्यस्तो शब्द भने परेको छैन ।
सरकारले आइतबार नै डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सर्वोच्चले यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
निवर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले पनि सोमबार साँझ अवकास पाएका छन् । उनी प्रहरी प्रधान कार्यालयबाट औपचारिक रुपमा विदा भइसकेका छन् ।