२३ साउन ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रादेशिक र संघीय चुनाव एकै चरणमा गर्ने हो भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न माग गरेको छ ।
आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गर्दै दुबै चुनाव एकै चरणमा गर्ने भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने माग गरेका हुन् ।
आयोगले चुनावका लागि आवश्यक ऐन कानुन पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आउने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावको मिति जतिसक्दो चाँडो घोषणा होस् भन्ने आयोगले चाहेको र भदौ १ मै चुनावको मिति घोषणा होस् भनिएको जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री देउवाले चुनावका लागि आवश्यक ऐन कानुन र प्रतिवेदन छिट्टै पाउने बताएका छन् । ‘आयोगले प्रतिवेदन तोकिएकै टाइममा बुझाउँछ, तपाईहरुले पाइहाल्नुहुन्छ,’ देउवाले भनेका छन्, ‘ऐन कानुन पनि संसदमा गइसकेको छ । छिट्टै पास हुन्छ ।’
प्रादेशिक र संघीय निर्वाचन मंसिर पहिलो साता र ढिलोमा दोस्रो साताभित्र गरिसक्नु पर्ने निर्वाचन आयोगको जोड छ ।