काठमाडौं । शहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौं यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन् । नत विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनुदिनु छ । म इस्तानबुलदेखि धेरै टाढा छु । यहाँ त्यहाँको जस्तो घना बस्ती छैन् । आकाश भने उस्तै छ, निखुर निलो । सायद पालुवाहरु पनि उस्तै छन्, कलिला र जीवनप्रतिको प्रेमले फुरफुर गरिरहेका ! सीमानालाई उल्लु बनाउँदै उड्ने चैते हुरीले एउटा खबर इस्तानबुलबाट यो सानो बस्तीसम्म ल्याएको छ । भर्खरै पालुवा फेरेको मेलको रुखतर्फ हेर्छु, त्यसको हाँगामा बसेर ढिकुर कराउँदैछ । मानौ, शोकगीत गाइरहेको छ ।
हो, प्रिय कमरेड तपाईंको मृत्युको खबरले आहात बनाएको छ । तपाईंसँग कहिल्यै भेट भएन, कुराकानी भएन र पनि खबर सुनेर मन अमिलिएको छ । २८ वर्षको कलिलो उमेरमा तपाईंले आफ्नो अमूल्य जीवन एउटा लक्ष्यका निमित्त बलिदान गर्नुभयो । तपाईंप्रति हार्दिक श्रद्धाका सुमन स्वरुप शब्दगुच्छाहरु समर्पण गर्दछु ।
युरोपको बिरामी भनेर चिनिने देश टर्कीको जन्म पहिलो विश्वयुद्धपछि सन् १९२३ मा भयो । राजनीतिक अस्थिरतामा रुमलिएको टर्कीमा सन् १९८० मा सैनिक कू भयो । बोल्न, लेख्नमा कडाइ गरियो । नाटकघरहरु बन्द भए । गीतहरु घन्किन छाडे । लेख्ने, बोल्ने र गाउने मानिसहरु जेलमा बन्दी बनाइए । सन् १९८५ को एकदिन विश्वविद्यालयको सानो कोठामा चार जना विद्यार्थीले गीत गाएको सुनियो । अध्याँरो मौनता चिरेर गीत घन्किदा सुन्नेहरु डराए । अध्याँरोप्रति असहमति जाहेर गर्ने उक्त चार जनाको समूहले एउटा संगीत समूहको निर्माण ग-यो । समूहको नाम थियो “योरम समूह” यो समूह पिर सुल्तान तथा नाजिम हिक्मत जस्ता हिम्मतीला तुर्केली कविहरुलाई आफ्ना आदर्श ठान्थ्यो ।
वर्गविभाजित समाजमा केही पनि तटस्थ हुँदैन, उक्त समाजको हरेक चीजमा राजनीति हुन्छ । संगीतमा राजनीति नहुने कुरा भएन । योरम समूहमाथि निरंकुश राज्यको नजर प-यो ।
टर्कीमा सन् १९५५ देखि नै अमेरिकी सेना रहेको छ । “योरम समूह”लाई अमेरिकी सेनाले टर्कीको सम्पति दोहन गरेकोमा चित्त दुखेको थियो । सत्ताले आफ्ना नागरिकहरुको मुखमा ताल्चा लगाएको हर्कत पटक्कै मन परेको थिएन । यो समूहका गीतहरु जनताद्वारा औधी रुचाइए । गीतमा टर्कीका जनताले आफ्नै आवाज भेटे । सत्ताले जनता भड्किने डरले योरम संगीत समूहमाथि धरपकड सुरु भयो । हतियार र कानुनको डण्डाले लोकगीतको गला रोक्न सकेन । गीतहरु झनपछि झन् बुलन्द बन्दै घन्किन थाले । योरम टर्कीमा मात्र नभएर यसको वरपर युरोप र एसियाका केही देशहरुमा समेत लोकप्रिय भयो ।
कमरेड हेलिन, तपाईं योरम जन्मेको सात वर्षपछि मात्र एक कुर्दीस परिवारमा जन्मिनु भयो । तपाईंको परिवार दियार्बकिर भन्ने शहरबाट इस्तानबुलमा स-यो । दियार्बकिर कुर्दीसहरुको बाहुल्यता भएको शहर हो । सैनिक सत्ताले कुर्दीसहरुको भाषा खोस्यो, गाउँहरु जलाइदिए । दियार्बकिरका कुर्दीसहरुले सन्त्रासमा जिउनु प-यो । तपाईंको मस्तिष्कमा पनि त्यो विभत्स दमनले बिस्तारै चिमोट्न शुरु ग-यो ।
योरम समूहले इस्तानबुलको ओकमेदानीमा इदिल सांस्कृतिक केन्द्र खोल्यो । फासीवादका विरुद्ध आमरण अनसनको क्रममा सन् १९९६ मा मृत्युुवरण गरेकी एयसे इदिल इर्कमेनको नाममा उक्त केन्द्रको नामाकरण गरिएको थियो । अमेरिका र टर्कीले आतंकवादी घोषणा गरेको क्रान्तिकारी जनमुक्ति पार्टीसँग सम्बन्ध भएको आरोपमा सन् २०१५ मा टर्की सरकारले योरम संगीत समूहमाथि प्रतिबन्ध लगाइदियो । कलाकारहरुलाई धमाधम गिरफ्तार ग¥यो । इदिल केन्द्रमा आक्रमण गरियो । बाजाहरु भाँचिदियो । पुस्तकहरु फालिदियो । गीत गाउने गाइनेहरुलाई आतंककारीको बिल्ला भिराइदियो ।
सरकार कठोर बन्दै जादा न्याय र स्वतन्त्रताका पक्षपाती युवाहरुको समूहप्रतिको लगाव घटेन । दमनको कालो बादलले इस्तानबुलको आकाश ढाँकिदै गएको बेला तपाईंले आफूलाई रोक्न सक्नुभएन । जनताको गीत घन्काउदै देश विदेशका विभिन्न ठाउँहरुमा जानुभयो । टर्कीमा मात्र होइन, ग्रिसमा पनि तपाईंको ख्याती बढ्यो । तपाईंले स्वतन्त्रता, समानता र सामाजिक न्यायका निमित्त गाउनुभयो । विदेशी हस्तक्षेपका विरुद्ध गाउनुभयो । गाउँदा गाउँदै सरकारले झण्डै दुई वर्ष अघि तपाईंलाई गिरफ्तार ग-यो ।
सरकारले जेलमा पनि यातना दिने अभियान नै चलायो । अमानवीय यातनाका विरुद्ध तपाईंलगायत केही साथीहरू जेलभित्रै अनसन बस्नुभयो । तपाईंहरुमाथि आतंकवादी संगठन बनाएर राज्य विरुद्ध विद्रोहको योजना बनाएको अभियोग लगाइएको थियो । विश्वभरका लेखक, बुद्धिजीवीहरु, मानव अधिकारवादीहरुले तपाईंहरुको रिहाइको लागि टर्कीको सरकारसँग माग गरे । वकिलहरुको समूह रिहाइको माग गर्दै अनसनमा बस्यो । गएको नोभेम्बर १९ मा तपाईंहरुलाई रिहा गरियो । तर योरम समूहमाथि लगाइएको प्रतिबन्ध नहटाएसम्म तपाईंहरुले अनसन जारी राख्ने निश्चय गर्नुभयो । असनकैक्रममा स्वास्थ्य एकदमै बिग्रन थालेपछि मार्च ११ मा तपाईं र इब्राहिम गोचेकलाई प्रहरीले अस्पताल लग्यो । तर तपाईंहरुले आफ्ना मागहरु पूरा नभएसम्म उपचार स्वीकार नगर्ने भनी अडान लिएपछि पुन: घर फिर्ता गरियो ।
प्रिय कमरेड, महिनौंको भोको पेट कति कष्टपूर्ण भयो होला ! तपाईंका एकजना साथी मुस्ताफा कोसाकले अनसनको २५० दिनमा भनेका थिए, “बितेका यी दिनहरुले मलाई धेरै सिकाएका छन् । प्रतिरोधका कठिनाइ र व्यथा पनि मैले भोगेको छु । जिउनु कति सुन्दर कुरा छ । म मर्न चाहान्नँ । म यो अन्याय चाँडो खतम भएको हेर्न चाहान्छु । मलाई बचाउनुहोस ।”
तपाईंकी आमा यतिबेला सबैभन्दा धेरै दुखी हुनुहोला । उहाँले केही समय पहिला भन्नुभएको थियो, “छोरीका स्नायुहरु सुन्निएका छन् । पीडाले ऊ निदाउन सक्दिन । म मेरी छोरीलाई पुनः स्टेजमा उभिएर जनताका गीत गाएको हेर्न चाहान्छु । म मेरो बच्चा मरिरहेको हेर्न सक्दिन । यस्तो राम्रो मान्छेले स्टेजमा उभिएर गीत गाएको मन पराउँदैनौ ? मेरा यी शब्द सुन्नेहरु कृपया केही गरिदिनुहोस् ।”
तर, टर्की सरकारले कसैको कुरा सुनेन । ऊ तपाईंको आवाजसँग अचम्मै डराएको थियो । तपाईंहरुले गाउने लोकगीत सरकारको लागि कोरोना भाइरसको आतंकभन्दा अझ डरलाग्दो थियो । सरकारले तपाईंको दारुण मृत्यु पर्खिरह्यो । आमरण अनसनको २८८ औं दिन, यही अप्रील ३ तारिख शुक्रबार तपाईंको जीवनको अन्तिम दिन बन्यो ।
प्रिय कमरेड हेलिन, तपाईंको मृत्युु मानवताको, स्वतन्त्रताको निमित्त समर्पित छ । म निलो आकाशको गहिराइमा तपाईंको गीत सुनिरहेको छु । आमजनताको गीतलाई मार्ने कुनै कानुन र हतियार यो बूढो र बहुलठ्ठी पुँजीवादसँग छैन् ।
अलविदा कमरेड हेलिन ! हामी विश्वभरिका भुँइ मान्छेहरु तपाईंलाई सदा सम्झिरहनेछौं ।
उही
छवि ।
नयाँ समाजमा छवि सुवेदीले लेखेका छन् ।