प्रेस सेन्टर नेपालले काउन्सिलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्ने

५ असोज ०७९, काठमाडौं । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेको भन्दै प्रेस सेन्टर नेपालले प्रेस विज्ञप्ति जारी गरेर कार्यक्रम बहिष्कार गर्ने बताएको हो ।

संगठनका महासचिव सन्तोष पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गरेका छन् ।