६ माघ ०७४, काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङलाई पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको छ ।
मनाङे २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेकोमा लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भएसँगै फरार छन् ।
मनाङे समुहले २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’
नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ ।













