१६ साउन ०७७, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले ३० दिनभित्र देशभर इन्टरनेट सेवा पु-याउने सम्बन्धी कार्ययोजना पनि पेश गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।
यस्तै समितिले सरकारलाई लिखितरुपमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार ढिला हुनुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन समेत दिएको छ ।
टेलिकमले विभिन्न बाहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा निजी सेवा प्रदायकले लाभ उठाइरहेका छन् ।
गत फागुनमै सकिनुपर्ने फोरजी सेवा विस्तारको काम अझै पनि सकिएको छैन ।
यस्तै समितिले नेपाल टेलिकमले एक वर्षमा कति सिमकार्ड वितरण भयो भन्ने विवरण पनि माग गरेको छ ।
समितिमा सञ्चारमन्त्री खतिवडाले लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको बताएका थिए ।