२४ माघ ०७४, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
वुधबार विराटनगरमा प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले संवैधानिक प्रक्रियाका कारण केही ढिलाइ भए पनि राष्ट्रियसभा चुनाव सकिएकाले अब छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।
प्रवक्ता शर्माले जनताले दिएको म्याण्डेट अनुसार कांग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार भएकाले फागुनको दोस्रो सातासम्म मुलुकले नयाँ सरकार पाउने बताए । उनले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने बताउँदै वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।













