१४ चैत, काठमाडौं । नेपाल सरकार आफैंले काठमाडौं-निजगढ फास्ट ट्र्याकमा बनाउने निर्णय भइसक्यो । तर, भारतले चासो देखाउन छाडेको छैन ।
नवनियुक्त भारतीय राजदूत मञ्जिव सिंह पुरीले आफ्नो पहिलो सार्वजनिक कार्यक्रममा नै फास्ट ट्र्याकमा भारतको चासो कायमै रहेको बताएका छन् ।
उनले भने, ‘म जोड दिन चाहन्छु कि रणनीतिकरुपमा महत्वपूर्ण ७७ किलोमिटर लामो काठमाडौं-निजगढ फास्ट ट्र्याक र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्न भारत प्रतिवद्ध छ ।’
नेपालले चाहे सरकारी सहयोगको लाइन अफ क्रेडिट बिस्तार गर्न पनि भारत इच्छुक रहेको उनले बताए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा फास्ट ट्र्याक निर्माणको जिम्मा भारतलाई दिने तयारी भएको थियो । चर्को विरोधपछि यो निर्णय रोकियो र, सरकारले नेपाल आफैंले निर्णय गर्ने निर्णय गरेको छ ।
सरकारी कार्यदलले केही समय अघि मात्र सरकार आफैंले बनाउनु पर्ने सुझाव समेत दिएको छ । तर, भारतले यसमा चासो दिन छाडेको छैन ।
हालै लगानी सम्मेलनका लागि काठमाडौं आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीले पनि काठमाडौं-निजगढ फास्ट ट्र्याक र निगजढ विमानस्थलमा भारतीय चासो देखाएका थिए ।