बन्दाबन्दीको व्यापक उल्लङ्घन हुन थालेसँगै कोरोना संक्रमणको जोखिम उच्च

देवराम यादव/२ साउन ०७७, राजविराज । सप्तरीमा बन्दाबन्दीको व्यापक उल्लङ्घन हुन थालेसँगै कोरोना संक्रमणको जोखिम बढेको छ ।

मास्क नलगाईकन समूह–समूहमा मानिस निस्कने तथा भौतिक दुरी समेत कायम नगरी एकै ठाँउमा जम्मा हुनेक्रम बढेपछि कोरोना संक्रमणको जोखिम बढेको हो ।

दैनिक ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि हुन थालेपछि सप्तरीको सीमावर्ती भारतको बिहार राज्यमा बिहीबारदेखि थप १६ दिनका लागि बन्दाबन्दी घोषणा गरिएको छ । यद्यपि सप्तरीमा भने बन्दाबन्दी उल्लङ्घन गर्नेक्रम बढ्न थालेको छ ।

जिल्लामा बन्दाबन्दीको पालना गर्न ठाउँ–ठाउँमा सचेतनामूलक व्यानर पनि राखिएको छ तर सोको पालाना गरेको पाइँदैन ।

सरकारले भारतबाट फर्कनेहरुलाई आधिकारीक नाका कुनौली तोकेको छ भने प्रहरीले त्यसमा कडाई समेत गरेको छ । र, उक्त नाकाबाट आउनेहरुलाई सोझै क्वारेन्टाईनमा राखिने गरिएको छ । तर, भारतको विहार राज्यसँग ७२ किलोमिटर खुला सीमाका कारण लुकिछीपी मानिसहरु आउनेक्रम अहिले पनि रहेको सीमावर्ती क्षेत्रका वासिन्दाहरुको भनाई छ ।

गजेन्द्र्र नारायणसिंह अस्पतालका प्रमुख डा. रन्जित झाले बजार, कार्यालय र पसलहरुमा भीडभाड हुनु साथै मास्क नलगाई जिल्लाभित्र चल्ने गरेका सिटी रिक्सामा यात्रा गर्नेहरुको समेत संख्या अध्यधिक बढेसँगै कोरोना संक्रमणको जोखिम उच्च रहेको बताए ।

उनले यही अवस्था रहे संक्रमणको अवस्था भयावह हुनसक्ने भन्दै सबैलाई आवश्यक सर्तकता अपनाउन आग्रह गरेका छन् ।

जिल्लामा १३ जना नयाँ संक्रमित फेला परेसँगै सप्तरीमा बिहीबारसम्म संक्रमितको संख्या ३ सय ४४ पुगेको छ ।