बन्दाबन्दीको स्वरूप बदल्न सांसदहरूको सुझाव

२४ जेठ ०७७, काठमाडौं । राष्ट्रिय सभामा सांसदहरूले बन्दाबन्दीको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारलाई लामो बन्दाबन्दीले गरिखाने वर्गमा असर परेको भन्दै यस्तो सुझाव दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपीबहादुर सार्की अछामीले सीमा र खास÷खास क्षेत्रमा कडाइ गरेर अन्य क्षेत्रलाई सहज बनाउनु पर्ने बताएका थिए ।

साना तथा मझौला उद्योगहरूले नियमित बैङ्कको ब्याज तिर्नुपर्ने साथै मजदुरहरूले तलब नपाएर दैनिकी संकटमा परेको भन्दै अछामीले साना, ठूला तथा मझौला उद्योगहरू क्रमशः सञ्चालन गर्ने वातावरण सरकारले बनाउनु पर्ने बताए ।

सांसद भगवती न्यौपानेले मानवजीवनको रक्षार्थ जारी बन्दाबन्दीलाई केही परिवर्तन गर्नुपर्ने बताए । यस्तै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कोरोना संक्रमण अझै उच्च बिन्दुमा पुग्ने थप व्यक्तिहरूको मृत्यु हुनसक्ने भन्दै सचेतता अपनाउनु पर्नेमा जोड दिए ।

यसैगरी सांसद हरिराम चौधरीले सुुदूूर पश्चिम प्रदेशमा भारतबाट आएका ५८ हजार जना क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै स्वाब र रगत लिए पनि उनीहरूको परीक्षण रिपोर्ट आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।